नेकपाका नेता सुरेन्द्र पाण्डे माथि भएको दुर्व्यवहारको यस्तो छ वास्तविकता /बरिष्ठ नेता द्वारा निन्दा

६ मंसिर २०७७, शनिबार १९:४२ प्रकाशित

चितवन ६ मंसीर :
नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे केहि दिनदेखि गृह जिल्ला चितवनमा थिए । शनिबार उनको आफ्नै निर्वाचन क्षेत्र रहेको राप्ती नगरपालिकाको नेकपा पार्टी कमिटीको बैठक थियो । बैठकमा प्रमुख अतिथिका रुपमा उनै पाण्डे सहभागी हुने कार्यक्रम तय भएको थियो ।  निर्धारित समयमै बैठक आरम्भ भयो ।
नगर कमिटी अध्यक्ष इमानसिंह लामाले अध्यक्षता गरे, सचिव रामचन्द्र पाठकले बैठक सञ्चालन गरे । प्रमुख अतिथि पाण्डेले आफ्नो धारणा राख्ने समय भयो । उनी बोल्न सुरु गरे । पाण्डेले आफु समेत सहभागी रहेको कार्यदलले मदन भण्डारी फाउण्डेशन, पुष्पलाल मित्रता केन्द्रका गतिबिधीले पार्टीमा गुटबन्दी बढाएको निष्कर्षसहित सुझाव दिएको बताए । त्यस्ता संस्थाहरुको गतिबिधीलाई निरुत्साहित गर्नुपर्ने आफ्नो स्पष्ट अडान रहेको बताउँदै गर्दा नेकपा बागमति प्रदेश कमिटी सदस्य समेत रहेका राप्ती नगरका मेयर प्रभात बराल बैठकमा प्रवेश गरे ।
बरालकै पछिपछि लागेर बैठकस्थलमा केहि युवाहरु हल्ला गर्दै प्रवेश गरे । त्यसरी होहल्लासहित बैठक प्रवेश गर्नेहरुको अगुवाई गरेका थिए, बागमति प्रदेशको कृषि मन्त्री दावा लामाका स्वकिय सचिव(जगन्नाथ थपलिया)को छोरा सुरज थपलिया र अर्का स्वकिय सचिव प्रकाश कालाखेतिले । सो समुहमा कृषि मन्त्री दावा लामाका छोरा र केदार आचार्यको पनि सहभागीता थियो ।
मेयरको पछि लागेर बैठकस्थलमा प्रवेश गरेका समुहले पार्टी एकता जिन्दावाद, जबज जिन्दावाद, राजनेता केपी ओली जिन्दावादको नारा लगाएका थिए । त्यसरी केहिबेर नारावाजी गरेपछि त्यो समुह बैठकस्थलबाट छाडेर गएको थियो । अराजक समुह बाहिरिएपछि बैठक पुनः सुचारु भएको थियो । राप्ती नगर कमिटीको बैठक सकेर पाण्डे भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी भएका थिए ।  पूर्वमन्त्री पाण्डेको सहभागी बैठकमा हल्ला गर्नेहरु सबै केपी ओली गुटका कार्यकर्ता थिए ।
बरिष्ठ नेता नेपाल र खनाल द्वारा निन्दा
यसैबीच नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुरेन्द्र पाण्डेमाथि गरिएको दुर्व्यवहारको निन्दा गरेका छन् । उनले एक वक्तव्य नै जारी गरेर घट्नाको निन्दा गरेका हुन् ।  त्यसैगरी नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि पाण्डेमाथि गरिएको दुर्व्यवहारको निन्दा गरेका छन् ।

६ मंसिर २०७७, शनिबार १९:४२  मा प्रकाशित

Write your Comment