संवैधानिक आयोगहरूमा नियुक्तिबारे परिषद्‌मा छलफल

३० मंसिर २०७७, मंगलवार २१:०१ प्रकाशित

काठमाडौं ३० मंसिर :
संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका सिटहरूमा नियुक्ति सिफारिसबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ करिब २ घण्टा बैठक चलेको थियो ।
बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिबारे छलफल भएको परिषद्का सदस्य तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । ‘आजको संवैधानिक परिषद्को बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिबारे छलफल भएको छ,’ उहांको भनाइ थियो ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को बैठक बसेको थियो । अध्यक्षबाहेक चारजना उपस्थित हुनुपर्ने यसअघिको व्यवस्था उल्ट्याएर मंगलबार दिउँसो अध्यादेश जारी गरी कायम रहेको संख्याको बहुमत भए बैठक बस्ने व्यवस्था गरी परिषद्को बैठक बसेको थियो ।
बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नगए पछि ५ बजेलाई सारिएको थियो । दिउँसो अध्यादेश ल्याएर बैठक बस्न सहज बनाइएको थियो ।
बिहानको बैठकमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दलका नेता एवं परिषद् सदस्य शेरबहादुर देउवा उपस्थित हुनु भएन । परिषद् बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

३० मंसिर २०७७, मंगलवार २१:०१  मा प्रकाशित

Write your Comment