काठमाडौं ३ फागुन :
अवहेलनासम्बन्धी मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित जवाफ दिएका हुन् ।
आफूहरुले साेमबार अदालतमै म्याद बुझेर लिखित जवाफ बुझाएको पूर्वप्रधानन्यायाधीशहरू श्रेष्ठ र शर्माले बताए । ‘हामीले अदालतमै म्याद बुझेर लिखित जवाफ दियाैं,’ श्रेष्ठले भने ।
सर्वाेच्चले यसअघि चारै जनालाई लिखित जवाफ दिन आदेश गरेको थियो । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।
निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।