ओलीका सात सारथिलाई कार्वाही

१९ फाल्गुन २०७७, बुधबार १७:०० प्रकाशित

काठमाडौं १९ फागुन :
नेकपा बहुमतले ओली समूहका सांसदसहित पार्टीको विविध जिम्मेवारीमा रहेका सात जनालाई निलम्बन गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई ६ महिनाका लागि निलम्बनको निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार सुवास नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापा निलम्बनमा परेका हुन् ।
नेम्वाङ एकीकृत नेकपामा संसदीय दलको उपनेता हुन् । उनी शुरुदेखि नै ओलीनिकट नेताको रुपमा चिनिन्छन् । त्यस्तै, विशाल भटराईलाई ओली समूहले गत हप्ता मात्र प्रमुख सचेतक नियुक्त गरेको थियो । महेश बस्नेत ओली समूहको प्रवक्ताजस्तै प्रस्तुत भैरहेका छन् । पूर्व माओवादीका साह भने नेकपा विभाजनमा अन्तिमतिर पटके मन्त्री बन्न पाइने शर्तसहित ओली पक्षतिर लागेका थिए । अघिल्लो दिन प्रचण्ड-माधव समूहको बैठकमा सहभागी भएका उनी मन्त्री पाउने भएपछि ओली पक्षमा लागेका थिए ।
दाङकी चौधरी ओली पक्षको सचेतक छिन् । नेकपाले प्रधानमन्त्री ओलीलाई दलको नेता, पार्टी अध्यक्ष हुँदै साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिसकेको छ ।

१९ फाल्गुन २०७७, बुधबार १७:००  मा प्रकाशित

Write your Comment