मकवानपुरमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, १०जना घाइते

२९ फाल्गुन २०७७, शनिबार ०९:१३ प्रकाशित

हेटौंडा २९ फागुन :
मनहरी गाउँपालिका-६ सुनाचुरीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ८९  नम्बरको ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बस चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनीलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बस चालक थापा र सुनीलकुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएकाको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२९ फाल्गुन २०७७, शनिबार ०९:१३  मा प्रकाशित

Write your Comment