मौफसलकै प्रतिष्ठित जितपुरसिमरा गोल्डकप आजदेखी

३१ चैत्र २०७७, मंगलवार ०९:३२ प्रकाशित

अनिस अधिकारी

सिमरा ३१ चैत्र :

मौफसलकै प्रतिष्ठित गोल्डकपको रुपमा चिनिएको जीतपुरसिमरा गोल्डकप आजदेखि शुरुहुनेछ । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा सिमरा रंगशालामा हुने गोल्डकप बैशाख ११ गतेसम्म चल्नेछ ।१२ टिमको सहभागिता रहने यस प्रतियोगितामा नेपाली र विदेशी टिमको सहभागीता रहने आयोजक नव जन जागृति युवा क्लवका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभएको छ । नेपालका विभागिय टोली त्रिभुवन आर्मी फुटवल क्लव, सशस्त्र प्रहरी वल (एपिएफ), हिमालयन शेर्पा, संकटा क्लव लगायतका राष्ट्रिय एवं अफ्रिकन रुटस एसोसेशन क्यामरुन लगायतका टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले उद्धघाटन गर्ने यस फुटबल प्रतियोगितामा पहिलो पटक रात्रीको समयमा खेलाईने भएकोले मैदानको स्तरोन्नती, फ्रड लाईट जडान तथा अन्य व्यवस्थापकिय सवै तयारी सकिएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ । यस बर्षको उद्धघाटन खेल आयोजक नव जन जागृति युवा क्लब र बाग्मती भिलेज युवा क्लब फापरवारीबिच हुने छ ।

प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।

विश्वकर्मा सिमेन्टको मुख्य प्रायोजनमा आयोजना हुन लागेको यस प्रतियोगितामा करीब रु ७० लाख ५५ हजार लागत अनुमान रहेको सो प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरी विशेष सहयोगी बनेको छ । त्यसैगरी अन्य सहयोगीहरूमा क्याल ग्रुप अफ इन्डस्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टील्स प्रालि, हुलास स्टील्स, क्लासिक इन्डस्ट्रिज, , होटल तथा पर्यटन व्यवसायी सङ्घ बारा लगायत रहेका छन् ।

३१ चैत्र २०७७, मंगलवार ०९:३२  मा प्रकाशित

Write your Comment