काठमाडौं १० बैशाख :
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले डिनर मिटिङको क्रममा अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ ।
गौतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिनुभएको छ ।
गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत् सार्वजनिक गरेको कुराकानीको अंशअनुसार खाना खाने क्रम चल्दाचल्दै गौतम बालुवाटारबाट फर्किनुभएको थियो ।
विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गर्नुभएको थियो ।
तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गर्नुभएको थियो,सो अनुरोधलाई ओलीले नकार्नुभएको थियो । त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन’ भनेर विदा हुनुभएको थियो । ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ,’ गौतमले भन्नुभएको थियो ।