जीतपुरसिमरा गोल्डकप : एपिएफलाई हराउदै संकटा फाइनलमा

१० बैशाख २०७८, शुक्रबार १४:१० प्रकाशित

अनिस अधिकारी

सिमरा १० बैशाख :

सिमरा रंगशालामा जारी बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपमा बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटा क्लब , काठमाडौँ विजयी भएको छ । एपीएफ फुटबल क्लबलाई ३ -१ गोल अन्तरले पराजित गर्दै संकटा क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । संकटा फाइनल प्रवेश गरे संगै प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ।

संकटाका लागि प्रकाश बुढाथोकीले २ गोल गरे भने फोफनाले एक गोल गरे। यता एपीएफका लागि प्रदिप लामाले एक गोल गरे।
खेलको चौथो मिनेटमा नै गोल गर्ने राम्रो अवसर चुकाएका प्रकाशले २२ औ मिनेटमा पहिलो गोल गर्दै टोलिलाइ सुरुवाती अग्रता दिलाएका थिए।खेलको ३७ औँ मिनेटमा प्रकाशकै गोलमा संकटाले अग्रता दोव्वर पा¥यो । एपिएफका सन्तोष कटुुवालले संकटाका सुभाष गुरुङलाई फाउल गरेपछि पाएको फ्रिकिक अवसर गोलमा परिणत भयो । झण्डै ३० यार्ड परबाट सुभाष गुरुङले हानेको फ्रिकिक बललाई डिबक्स भित्र नियन्त्रणमा लिंदै प्रकाशले गोलमा परिणत गरेका थिए ।
खेलको ६१ औँ मिनेटमा संकटाका अफ्रिकी स्ट्राइकर फोडे फोफानाले गोल गर्दै संकटालाई ३–० को फराकिलो अग्रता दिलाए । सुभाष गुरुङको क्रसपासलाई फोफानाले डिबक्स बाहिरैबाट गोलमा परिणत गरे ।
खेलको ७९ औं मिनटमा एपिएफका प्रदिप लामाले पेनाल्टी शुट आउटमा सान्त्वना गोल फर्काएपनि अन्तिम समयमा एपिएफ खेलमा फर्कन सकेन । एपिएफले कर्नर एरियाबाट हानेको फ्रिकिक नियन्त्रणमा लिने क्रममा सुमन विकले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि एपिएफले पेनाल्टी शुटआउटको मौका पाएको थियो ।

खेल को म्यान अफ दि म्याच संकटाका प्रकाश बुढाथोकी घोषित भए । उनले पाच हजार नगद र ट्रफि प्राप्त गरे ।
चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।

फाइनलमा अफ्रिकन रुट्स र संकटा भिड्ने
प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल भिडन्तमा अफ्रिकन रुट्स एसोसियसन क्यामरुन र संकटा क्लब काठमाडौँ भिड्नेछन्। आयोजक नव जन जागृती युवा क्लब सिमरालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट्सले फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो भने संकटाले एपीएफ फुटबल क्लब लाई ३-१ गोल अन्तर ले पराजित गरेर अफ्रिकन रुट्ससंगको आफ्नो भेट सुनिश्चित गरेको थियो। सेमीफाइनल खेल बेलुका ४ बजेबाट सिमरा रंगशाला , सिमरामा हुनेछ । भर्खरै सम्पन आहा रारा गोल्डकपको उपाधि भिडन्तमा पनि यी दुइ टोलिले प्रतिस्प्रधा गरेका थिए, जसमा अफ्रिकन रुट्सलाइ हराउदै संकटाले उपाधि उचालेको थियो। अफ्रिकन रुट्सलाई आहा रारा गोल्डकपमा भोगेको पराजयको बदला लिने मौका छ भने संकटालाई इतिहास दोहोराउने अवसर छ। खेलको टिकट दर रु. २०० कायम गरिएको आयोजकले जनाएको छ । बढ्दो कोरोना भाइरसको जोखिमका कारण आयोजकले खेल हेर्न जाने दर्शक तथा आमन्त्रित अतिथिलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। आयोजकले बिभिन्न संस्थाको सहकार्यमा दर्शकका लागि नि:शुल्क मास्कको व्यवस्था गरेको छ ।

१० बैशाख २०७८, शुक्रबार १४:१०  मा प्रकाशित

Write your Comment