जीतपुरसिमरा गोल्डकप : उपाधि भिडन्तमा संकटा र एआरए प्रतिस्पर्धामा

११ बैशाख २०७८, शनिबार ११:५१ प्रकाशित

मोफसलकै प्रतिष्ठित सिमरा गोल्डकपको ११ औ संस्करण बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपको फाइनल भिडन्त शनिबार साझ हुदै छ। उपाधि भिडन्तमा अफ्रिकन रुट्स एसोसियसन क्यामरुन र संकटा क्लब काठमाडौँ भिड्नेछन्। क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको अफ्रीकन रुट्सले सेमिफाइनलमा आयोजक नव जन जागृती युवा क्लब, सिमरालाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । संकटाले भने क्वाटरफाइनलमा विजय युथ क्लब, हेटौडालाई २-१ गोल अन्तरले पराजित गरेको थियो र सेमिफाइनलमा एपीएफ फुटबल क्लबलाई ३-१ गोल अन्तर ले पराजित गरेर अफ्रिकन रुट्ससंगको आफ्नो भेट सुनिश्चित गरेको थियो। फाइनल खेल बेलुका ४ बजेबाट सिमरा रंगशाला , सिमरामा हुनेछ ।
आठौं संस्करणको विजेता संकटा दोस्रो पटक उपाधी उचालेर दुई पटक टाइटल जित्ने तेस्रो टिम बन्न चाहन्छ। यसअघि मनाङ मस्र्याङदी क्लब र त्रिभुवन आर्मी क्लबले दुई पटक उपाधी उचालिसकेका छन्। संकटा दोस्रो पटक उपाधी उचाल्ने रणनितिमा हुँदा एआरए भने पहिलो सहभागितामै टाइटल विजेताको नामा आफुलाई राख्न चाहन्छ। भर्खरै सम्पन आहा रारा गोल्डकपको उपाधि भिडन्तमा पनि यी दुइ टोलिले प्रतिस्प्रधा गरेका थिए, जसमा अफ्रिकन रुट्सलाइ हराउदै संकटाले उपाधि उचालेको थियो। अफ्रिकन रुट्सलाई आहा रारा गोल्डकपमा भोगेको पराजयको बदला लिने मौका छ भने संकटालाई इतिहास दोहोराउने अवसर छ। आहा रारापछि विराट गोल्डकपमा समेत यी दुई टिम आमनेसामने भए। उक्त खेलमा पनि संकटा १–० ले विजयी भयो।
संकटाका कप्तान सुभाष गुरुङले एआरए बलियो टोली भएपनि यसअघिका दुई खेलको नतिजा आफ्नो पक्षमा आएकाले टिमको मनोबल उच्च रहेको बताए।
‘शारिरीक रुपमा एआरए हामीभन्दा बलियो देखिन्छ, तर यसअघिका दुई खेलको नतिजा हामीले हात पारेका छौ’ संकटाका कप्तान गुरुङले भने ‘तेस्रो खेलमा पनि हामी जितको खोजीमा हुनेछौँ। आवश्यक रणनितिसहित मैदानमा उत्रनेछौ।’
यसअघिका दुई खेलमा पराजित भएका कारण केही दवाबमा देखिएको एआएर भने अबको भीडन्तमा जित निकाल्ने रणनितिसहित मैदानमा उत्रदैछ। यसअघिका दुवै खेलमा संकटाले कठिन जित हात पारेको भन्दै एआरएका कप्तान डिए स्याल्भियोले तेस्रो खेलको नतिजा आफ्नो पक्षमा जाने दावी गरे।‘आहा रारामा टाईब्रेकर र विराटमा १–० ले हामीले खेल गुमायौँ। तर हामीले उत्कृष्ट प्रदर्शन गरेका थियौँ। संकटाले सहजै हामिलाई हराएको होइन’ स्याल्भियोले भने ‘उक्त दुई पटकको हारको बदला लिने अवसर पनि हो। हामी उपाधी जित्ने लक्ष्यसहित मैदानमा आउनेछौँ। ’
उपाधी भिडन्तमा यी दुई टिमले आफ्नो एक जना महत्वपूर्ण सदस्य गुमाउनेछन्। यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका फोडे फोफना र एआरएका ए फ्याब्रिकलाई फाईनलमा देख्न पाइने छैन। लगातार पहेँलो कार्ड पाएका कारण दुबै खेलाडी मैदान बाहिर हुनेछन्।
चैत्र ३१ बाट सुरु भएको गोल्डकपको समापन आज हुदै छ । १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।
खेलको टिकट दर रु. २०० कायम गरिएको आयोजकले जनाएको छ । बढ्दो कोरोना भाइरसको जोखिमका कारण आयोजकले खेल हेर्न जाने दर्शक तथा आमन्त्रित अतिथिलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। आयोजकले बिभिन्न संस्थाको सहकार्यमा दर्शकका लागि नि:शुल्क मास्कको व्यवस्था गरेको छ ।

११ बैशाख २०७८, शनिबार ११:५१  मा प्रकाशित

Write your Comment