भ्रममा नपर्नुस्, अहिलेसम्म कुनै सहमति भएको छैन’
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने बताउनुभएको छ।
बरिष्ठ नेता नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि लचकता अपनाउन पनि तयार रहेको भन्दै अध्यक्ष ओली पनि त्यसका लागि तयार हुनुपर्ने धारणा राख्नुभएको छ । ‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो,’ उहांले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यकर्ताहरूलाई आग्रह गर्दै, ‘यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’
एमाले पार्टी आफूहरूले निर्माण गरेको भन्दै नेता नेपालले सिद्धान्त निष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध पार्टी गठन गर्न आफूहरूले चाहेको बताउनुभएको छ।
‘यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ उहांले भन्नु भयो, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’