जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको कार्यकारिणी समिति बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको छ । जसपामा यादव र ठाकुर गरी दुई अध्यक्ष रहेका छन् भने संघीय परिषद् अध्यक्षको रुपमा डा बाबुराम भट्टराई रहेका छन् ।
शनिबार अध्यक्ष यादवले आफ्ना पक्षका कार्यकारिणी सदस्य तथा संसदीय दलको बैठक राखेर ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गर्नुभएको हो । संसदीय दलको विधान विपरित पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ठाकुर पक्षले संसदीय दलको नेता चयन गरेको प्रति आपत्ति जनाउँदै सो बैठकले त्यो निर्णयलाई स्वीकार नगर्ने निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभाका सदस्य यो. इस्तियाक राईले बताउनुभयो ।
पार्टीको अनुशासन उल्लघंन गर्ने काम अध्यक्ष ठाकुर र नेता महतोले गरेको निष्कर्ष बैठकले निकाले उहांले बताउनुभयो । भक्तपुरको रिसोर्टमा लगेर पार्टीका सांसदलाई थुनेर राख्नु, कुनै अर्को पार्टीका सांसदको उपस्थितिमा पार्टीका निर्णयहरु गराउनु पार्टीको अनुशासन विपरित कार्य भएको बताउँदै इस्तियाकले यस विषयमा ठाकुरसँग अन्तिमपटक छलफल हुने बताउनुभयो। छलफलमा कुरा नमिले विधान अनुसार अगाडि बढ्ने निर्णय भएको उहांको भनाइ छ ।
