संसद विघटन विरुद्धका ३०वटा रिटको पेशी जेठ १३ र १४ गते तोकियो

११ जेष्ठ २०७८, मंगलवार १७:१७ प्रकाशित

काठमाडौं ११ जेष्ठ :
संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका ३० वटा रिटको पेसी जेष्ठ १३ र १४ गतेका लागि तोकिएको छ । सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन । ती मध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

११ जेष्ठ २०७८, मंगलवार १७:१७  मा प्रकाशित

Write your Comment