सर्वोच्चको आदेश : कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार एमाले सांसदलाई पुनर्वहाली गर्नु

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित

सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेत्रृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।
पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए ।एमालेको झलनाथ खनाल- माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।

उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।

माधव नेपाल पक्षधरका ४ सांसदले ह्वीप उल्लंघन गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । उनीहरुमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका छन् ।

Write your Comment