सभामुखले बोलाएको बैठक जारी,प्रधानमन्त्री ओली अनुपस्थित

२८ जेष्ठ २०७८, शुक्रबार १५:४६ प्रकाशित

काठमाडौं २८ जेष्ठ :

सभामुख अग्निप्रसाद सापकोटाले राखेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
सभामुख सापकोटाले आज सर्वदलीय बैठक राखेका छन्। अहिले बैठक जारी छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले प्रमुख दलका शीर्ष नेतालाई छलफलमा डाकेका थिए।
दलका शीर्ष नेताहरू र पूर्वप्रधानमन्त्रीहरूसँग सभामुख सापकोटाले छलफल गरेका हुन्।छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरीष्ठनेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहरा र नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्।
सभामुख सापकोटाको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई पनि बैठकका लागि बोलाइएको थियो। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र दलका नेतालाई पत्राचार गरेर बैठकमा आउन भनिएको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले बरीष्ठ नेता झलनाथ खनाल भर्चुअल रूपमा बैठकमा सहभागी छन्। यसअघि सभामुखले पूर्वसभामुख र कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।

२८ जेष्ठ २०७८, शुक्रबार १५:४६  मा प्रकाशित

Write your Comment