रुपन्देहीको देवदहमा डाइभर्सन भासिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

१ असार २०७८, मंगलवार १६:०२ प्रकाशित

बुटवल १ आषाढ :

रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।
सडक भासिएपछि गन्तव्यमा सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् । मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

बुटवल–नारायणगढ सडक विस्तारको क्रममा सो ठाउँको कल्भर्ट पुल भत्काएर चार लेनको पुल बनाउन डाइभर्सन बनाइएको थियो ।

‘वर्षा नरोकिएकाले आज दिनभर राजमार्ग खुल्ने संभावना छैन’ डीएसपी पाण्डेले भने । लामो दूरीका सवारी साधनहरु बुटवल–मणिग्राम–देवदह मार्ग वा बुटवल–भैरहवा–भुमही मार्ग हुँदै गन्तव्यमा जान सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

१ असार २०७८, मंगलवार १६:०२  मा प्रकाशित

Write your Comment