बाढीपहिरो बाट विभिन्न जिल्लामा ६ जनाको मृत्यु, २८ बेपत्ता

३ असार २०७८, बिहीबार ०८:०० प्रकाशित

काठमाडौं ३ आषाढ :
मुलुकका विभिन्न जिल्लामा अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी बुधबार रातिसम्म कम्तीमा ६ जनाको मृत्यु भएको छ भने२८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोकमा २, बाजुरा, पाल्पा, कास्की र डोटीमा १/१ जनाको मृत्यु भएको हो भने सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा १/१ जना गरी बेपत्ता भएका छन् । विपद्मा परी ११ जना घाइते भएका छन् । त्यसमध्ये सिन्धुपाल्चोकको मेलम्चीमा घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको बीएन्डबी अस्पताल ल्याइएको छ ।
गएको जेठ ३० गतेबाटै देशका विभिन्न जिल्लामा मनसुनको असर देखिए पनि मंगलबारबाट डेढ दर्जनभन्दा बढी जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको हो । सबैभन्दा बढी जनधनको क्षति सिन्धुपाल्चोकको मेलम्चीमा भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता जनकराज दाहालले बाढीपहिरोपछिको विपद्केन्द्रित खोज तथा उद्धारकार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने बताए । गृह मन्त्रालयबाट प्राप्त बुधबार राति अबेरसम्मको विवरणअनुसार ८९ घर/आवासलगायतका भौतिक संरचनामा बाढीपहिरोबाट पूर्ण र २६ वटा घरमा आंशिक क्षति पुगेको छ । प्रकोपबाट सार्वजनिक, निजी तथा जलविद्युत् आयोजनाका संरचना पनि नष्ट भएको छ । वर्षापछि आएको बाढीले १ सय ६५ घर डुबानमा परेका छन् ।

३ असार २०७८, बिहीबार ०८:००  मा प्रकाशित

Write your Comment