नेदरल्यान्ड्स १३ वर्षपछि युरो कपको नकआउट चरणमा

४ असार २०७८, शुक्रबार ०८:२४ प्रकाशित

काठमाडौं ४ आषाढ :
नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’ मा लगातार दोस्रो जित निकालेसँगै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो।
नेदरल्यान्ड्सले शुक्रबार विहान सकिएको खेलमा अस्ट्रियालाई २-० गोलले पराजित गर्‍यो। यसअघि उसले पहिलो खेलमा युक्रेनलाई ३-२ गोलले पराजित गरेको थियो।

दोस्रो खेलमा नेदरल्यान्ड्सको जितमा ११ मिनेटमा डिपेले पेनाल्टीमा पहिलो गोल गरे। डमफ्राइसलाई अस्ट्रियाका कप्तान डेबिड अलाबाले फल गरेपछि नेदरल्यान्ड्सले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफमा उनै डमफ्राइसले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे।

सन् २०१८ को विश्वकप र सन् २०१६ को युरो कपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स सन् २००८ पछि पहिलो पटक युरो कपको नकआउट चरणमा पुगेको हो ।
समूह ‘सी’ मा नेदरल्यान्ड्सले लगातार २ जितसहित ६ अंक जोडेको छ। एक खेलमा जित र एक खेलमा हार बेहोरेका युक्रेन र अस्ट्रियाको ३-३ अंक छ। नर्थ म्यासेडोनियाले अंक जोड्न सकेको छैन।

अबसमूह ‘सी’ को अन्तिम चरणको खेलमा युक्रेन र अस्ट्रिया तथा म्यासेडोनिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

४ असार २०७८, शुक्रबार ०८:२४  मा प्रकाशित

Write your Comment