मेलम्चीमा फेरी आयो बाढी, सचेत रहन प्रशासनको अनुरोध

४ असार २०७८, शुक्रबार २२:२४ प्रकाशित

सिन्धुपाल्चोक ४ आषाढ :
मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी आएको छ।
असार १ गते आएको भन्दा ठूलो बाढी नदीमा आएको हो।

प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा बाढी आएको हो ।
‘पानी नपरे पनि बाढी आएको छ, शिरतिर पानी पर्‍यो कि भन्ने आशंका छ,’सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीको भनाइ छ ।
बाढीले हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको आशंका रहेको उनले बताए। पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको अधिकारीले बताए।

‘तर, के कस्तो क्षति भएको छ भन्ने विवरण आएको छैन,’ उनले भने।

मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित स्थानमा सारिसकिएको छ भने आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ।

‘नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित ठाउँमा सारिसकिएकाले खासै ठूलो क्षति हुने सम्भावना छैन,’ अधिकारीले भने।
नदी आसपासमा रहेका खाली घरहरूलाई भने बाढीले क्षति पुर्‍याउन सक्ने आँकलन गरिएको छ।

भोटेकोसी नदीमा पनि पानीको बहाव बढेको बुझिएको अधिकारीले बताए।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले मेलम्चीमा फेरि बाढी आएको र सतर्क रहन अपिल गरिएको बताए ।

४ असार २०७८, शुक्रबार २२:२४  मा प्रकाशित

Write your Comment