बारा ५ आषाढ :
सिमरामा रहेको जगदम्बा स्टिल प्रा.लीमा आज आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ भने चार जना मजदुर घाइते भएका छन् ।
उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको उहांले जानकारी दिनुभयो ।
मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहाकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । घाइते चारजनामा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भिर अवस्था रहेका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ । यस उधोगमा यस्ता खालका घटनाहरू पटक पटक हुदै आएका छन् । केही समयअगाडि पनि कवाड गराउने भट्टी विस्फोट हुँदा एकजना मजदुरको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए । उद्योगको लापरबाहीका कारण मजदुरहरूको मृत्यु हुने गरको र स्थानियहरुमा त्रास बढने गरेको छ । सिमरामा कवाड गराउनेने भट्टी बन्द गराउन स्थानीयले दबाब दिएतापनि उद्योगले अटेरी गर्दै आएको छ ।