पोर्चुगल माथी जर्मनीको अनौठो जित

६ असार २०७८, आईतवार ०७:४२ प्रकाशित

जर्मनीले साबिक विजेता पोर्चुगललाई हराउँदै नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायम राखेको छ । शनिबार भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले हराएको हो ।
खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो । खेलको १५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा पोर्चुगलले दुई आत्मघाती गोल गर्यो । रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि आत्मघाती गोल गरे । योसँगै पोर्चुगल यूरो वा विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टोली बनेको छ ।
उता, जर्मनी पनि युरोपियन च्याम्पियनसीपको एउटै संस्करणमा आत्मघाती गोल गर्ने र आत्मघाती गोलबाट फाइदा लिने पहिलो टोली बनेको छ । फ्रान्सबिरुद्धको खेलमा जर्मनीले आत्मघाती गोल गरेको थियो ।
दोस्रो हाफको सुरुवातमा नै काइ हाभर्टजले जर्मनीका लागि तेस्रो गोल गरे भने रोबिन गोसेन्सले जर्मनीको अग्रता फराकिलो बनाए । पोर्चुगलले मुख्य प्रतियोगितामा हालसम्म दुई पटक मात्र एकै खेलमा चार गोल खाएको छ । दुवै पटक विपक्षी टोली जर्मनी रहेको छ ।
६७ औँ मिनेटमा डिआगो जोटाले पोर्चुगललाई फर्काउने प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन ।
ग्रुप अफ डेथ मानिएको समूह एफमा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । जर्मनी र पोर्चुगलको ३–३ अंक रहेको छ ।

६ असार २०७८, आईतवार ०७:४२  मा प्रकाशित

Write your Comment