बेल्जियम क्वाटरफाइनलमा,साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो

१४ असार २०७८, सोमबार ०६:५५ प्रकाशित

साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।
सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा थोर्गन हाजार्डको एकमात्र निर्णायक गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

८३औं मिनेटमा पोर्गुलका राफेल गुरेइरोको प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसअघि रुबेन डियाको हेडर बेल्जियमका गोलकिपर थिबाउ कोर्तवाले रोकेका थिए ।

समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा एक पटकको विजेता इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।

१४ असार २०७८, सोमबार ०६:५५  मा प्रकाशित

Write your Comment