बिपक्षी गठबन्धनका नेता र बुद्धिजीवीहरुबीचको छलफल सुरू, बरिष्ठ अधिवक्ता थापाले भन्नुभयो : सत्तामा नभएको बेला हामी चाहिने,अरूबेला किन नचाहिने ?

१४ असार २०७८, सोमबार १५:४९ प्रकाशित

काठमाडौं १४ आषाढ :
पाँच दलीय शीर्ष नेतृत्व र विभिन्न पेशागत क्षेत्रका बुद्धिजीवीहरुबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से भवनमा छलफल सुरु भएको हो ।
छलफल कार्यक्रममा अहिले बुद्धिजीवीहरूले मन्तव्य राखिरहेका छन् । मन्तव्य राख्ने बुद्धिजीवीहरुलाई ३ मिनेटको समय छुट्टयाइएको छ ।

सो कार्यक्रममा बोल्दै शम्भु थापाले सत्तामा रहुञ्जेल बुद्धिजीवी नचाहिने र सत्ताबाहिर पुगेपछि चाहिने भन्दै ब्यङ्ग्य गरे ।
उनले विपक्षी दलका नेताहरूलाई आज सरकारले गरेको संवैधानिक नियुक्ति जस्तै तपाईले पनि भोलि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ? भन्दै प्रश्न गरे । उनले सबै दल मिलेर समाजवाद ल्याउने भनेर संविधानमै लेखेको तर समाजवाद ल्याउने कुनै काम नगरेको बताए । उनले त्यसका लागि विद्येयक ल्याउनुभयो ? त्यत्रो जनयुद्ध गर्नुभयो तर त्यसका लागि न्युनतम कुरा के ल्याउनुभयो भन्दै प्रश्न गरे ।
अहिले अदालतमा सेटिङको कुरा आएको भन्दै उनले भने, ‘मुद्दा हेर्ने न्यायाधीश छान्दा धेरै देशमा पैसा खाएर वाक्क दिक्क पारेपछि अटोमेशन सिस्टम ल्याएको छ । नेपालमा केही न्यायाधीशले त्यसको अभ्यास गर्न खोजेपनि अहिले त्यसलाई रोकिएको छ ।
बरिष्ठ अधिवक्ता थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारले गरेको संवैधानिक नियुक्तिमा कति भाग पाएको छ भन्दै प्रश्न गरे । देउवाले त्यसको प्रष्ट जवाफ दिन आग्रह गरे । राष्ट्रपति खोपीको देउताको रूपमा रहेको भन्दै उनलाई थप अधिकार दिने प्रपञ्च नगर्न उनले समेत आग्रह गरे ।

१४ असार २०७८, सोमबार १५:४९  मा प्रकाशित

Write your Comment