चितवनका बिभिन्न स्थानमा बाढी तथा डुबानमा

१७ असार २०७८, बिहीबार १२:४१ प्रकाशित

निरन्तर परेको वर्षाले चितवनको पूर्वी क्षेत्र डुबानमा परेका छन्। जिल्लाको पूर्वी सिमाना लोथर खोलादेखि रत्ननगर नगरपालिकासम्मका विभिन्न क्षेत्र डुबानमा परेको हो। राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालका अनुसार सबैभन्दा बढी लोथर खोला, पम्पा खोलाले असर पारेको छ। केही साना खहरे खोलाले पनि विभिन्न क्षेत्रलाई डुबानसँगै जोखिममा पारेको उनले बताइन् ।
उनका अनुसार हालसम्म वडा नं. ६, ७ र ८ को पूर्वपश्चिम राजमार्गबाट दक्षिण क्षेत्र डुबानमा परिसकेका छन्। खहरे खोलाहरुले वडा नं. ८ र ९ लाई डुबाएको उनको भनाइ छ। ‘अहिले म बाढी अवलोकन गर्नकै लागि खुरखुरे आइपुगेकी छु,’ उनले भनिन्, ‘डुबानमा परेका घरभित्रका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सार्नुपर्ने पनि हुन सक्ने हुँदा त्यसतर्फ ध्यान गएको छ ।

बिहानसम्म लोथर खोलाले चितवन र मकवानपुर जोड्ने पुलको उत्तरतर्फको कच्ची बाटो र बाटोको सुरक्षार्थ लगाइएको लञ्चिङ जाली बगाइसकेको उनले बताइन्। ‘तर, अहिले पानी घटेको छ,’ उनले भनिन्, ‘डेन्जर जोनबाट भने अझै तल झरेको छैन।’
राप्ती ८ को पछुवारी बस्तीमा बाढी पसेको छ। पम्पा खोलाको दक्षिणतर्फ रहेको बाँध नाघेर बस्तीमा पानी छिरेको स्थानीयले जानकारी दिए। डुबानमा परेका स्थानीयलाई सशस्त्र प्रहरीले उद्धार गरे सुरक्षित स्थानमा सारेका छन्। वडा नम्बर ८ को पूर्वारी र पछुवारी दुवै बस्ती जोखिममा रहेका उनले बताए। उनका अनुसार मुख्य राजमार्ग क्षेत्रको दक्षिणतर्फका प्रायः बस्ती डुबानमा परेका छन् ।
खैरहनीतर्फका पनि विभिन्न क्षेत्र डुबानमा परेका छन्। पूर्व पश्चिम राजमार्गको चैनपुरदेखि शान्तिचोकसम्म सडकमै पानी बगेको छ। खैरहनी निवासी सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेलका अनुसार लदरी खोला र च्यात्रा खोलामा आएको बाढीका कारण राजमार्गबाटै पानी बगेको हो। ‘चैनपुर चोकको सडकमा सबैतीर बाढीपसेको उनले भने, ‘पुरानो पर्सा पनि डुबानमा पर्न थालेको छ।’
अहिले भने बिहानको तुलनामा पानी पर्न केही कम भएको उनले बताए। तर, लदरी र च्यात्रा खोला बढेर चैनपुर चोकबाट उत्तरतर्फको रामकोला चोकसम्मको भेग पूरै डुबानमा परेको उनले बताए। सडक नै जलमग्न भएपछि प्रहरीले सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। कही सवारीसाधन भने जबरजस्ती चलिरहेका उनले बताए। खैरहनीको पुरानो पर्सा र सिमलटाँडी क्षेत्र पनि पूरै डुबानमा परेका छन् । क्षेत्रपुर तरकारी बजार पनि डुबानमा परेको छ ।

१७ असार २०७८, बिहीबार १२:४१  मा प्रकाशित

Write your Comment