युरोकप २०२० मा स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन सेमिफाइनलमा

१९ असार २०७८, शनिबार ०७:१२ प्रकाशित

स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।सुरुआतदेखि नै स्वीट्जरल्यान्डको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको स्पेनले आठौं मिनेटमा डेनिस जकारियाले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको थियो ।

स्पेनले पाएको कर्नरमार्फत् आएको क्रसमा डिफेन्डर जोर्डी अल्बाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार जकारियाको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा १-० ले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक शैली अपनाएको थियो ।

बल पोसेसनमा हाबी बनेको स्पेनमाथि काउन्टर अट्याकको फाइदा उठाउँदै स्वीट्जरल्यान्डले ६८औं मिनेटमा आजका कप्तान शेर्डेन शकिरीको गोलसँगै बराबरी गरेको थियो ।

दुई स्पेनिस डिफेन्डर अलमलमा परेको फाइदा उठाउँदै रेमो फ्रेउलरले कप्तान शकिरीलाई सुन्दर पास दिएका थिए । शकिरीले सोही पासको सदुपयोग गर्दै स्पेनिस गोलकिपर उनइ सिमोनलाई बिट् गर्दै स्वीट्जरल्यान्डलाई बराबरीमा ल्याएका थिए ।

त्यसको ९ मिनेट नबित्दै स्पेनिस फरवार्ड जेरार्ड मोरेनोमाथि खराब फाउल गरेका फ्रेउलरले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । फ्रेउलरले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको स्वीट्जरल्यान्डले ९० मिनेटसम्म स्पेनलाई रोकेर अतिरिक्त समयमा लगेको थियो ।

अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

समूह एको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको स्वीट्जरल्यान्डले क्‍वार्टरफाइनल प्रवेशका लागि फ्रान्सलाई पराजित गरेको थियो । निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा टुङ्गिएसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुट आउटमा पुगेको थियो ।

पेनाल्टीमा सुरुआती पाँच प्रहारलाई गोलमा परिणत गरेको स्वीट्जरल्यान्डले फ्रेन्च फरवार्ड एम्बाप्पे असफल हुँदा जित निकाल्न सफल भएको थियो ।

त्यस्तै, समूह ईको उपविजेताको रूपमा अन्तिम १६ मा पुगेको थियो । प्रि-क्‍वार्टरफाइनलमा क्रोएसियामाथि अतिरिक्त समयमा ५-३ को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

आजको जितसँगै सेमिफाइनलमा पुगेको स्पेनले आज राति नै विजेता इटलीसँग बुधबार खेल्ने छ ।

१९ असार २०७८, शनिबार ०७:१२  मा प्रकाशित

Write your Comment