कोसीको जलस्तर निरन्तर बढेपछी सतर्क रहन आग्रह

१९ असार २०७८, शनिबार १०:५३ प्रकाशित

बिराटनगर १९असार :

निरंतरको बर्षापछी केहीदिन देखी पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ ।शनिबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेजमा एक लाख ८० हजार ७७० क्युसेक पानीको बहाव छ ।
यसअघि शुक्रबार राति एक लाख ५५ हजार क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ ।
नदीमा जलस्तर बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा जलस्तर बढिरहेको अवस्थामा आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । तर तत्कालै कुनै खतरा भने नरहेको जनाइएको छ ।

सुनसरी प्रशासन र प्रहरीले सम्भावित अवस्थालाई ध्यान दिंदै सबैखाले तयारी गरिएको जनाएका छन् । पूर्वी पहाडी जिल्लाहरु तथा तराईमा पनि केही दिनयता लगातारजसो वर्षा भइरहेको छ । यही कारण कोसीमा मिसिने खोला, नदीहरुमा बाढी आएको छ ।
वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।

१९ असार २०७८, शनिबार १०:५३  मा प्रकाशित

Write your Comment