ओली-रावल छलफल– हस्ताक्षर फिर्ता गर्दैनौं,कार्यदल सक्रिय बनाएर अघी बढौं

२०७८ अषाढ २१, सोमबार प्रकाशित

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहलाई फकाउने प्रयत्नमा छन् ।

आइतबार एमाले उपाध्यक्ष भीम रावललाई ओलीले बालुवाटार बोलाएर लामो समय पछी भेट गरे । भेटमा रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको र विवाद समाधानका लागि यसअघि बनाएको कार्यदललाई सक्रिय बनाउन प्रस्ताव राखेका छन् ।
लहडमा चल्ने कारणले यस्ता समस्या उत्पन्न भएका हुन् । त्यसैले विधि पद्धति मानौँ । पार्टी एकीकरणका सन्दर्भमा कुनै किसिमको द्धिविधामा छैनौँ । विगतमा भएका कमिकमजोरीलाई सच्याउँदै विवाद समाधनका लागि बनेको कार्यदल सक्रिय बनाऔं,” रावलको प्रस्ताव थियो ।

उक्त प्रस्तावमा ओली सकारात्मक भएको स्रोतको भनाइ छ । पार्टी विवाद समाधानका लागि केही समयअघि १० सदस्यीय कार्यदल बनेको थियो ।

पार्टी विवाद चुलिँदै जाँदा उक्त कार्यदल भंग भएको नेताहरुले बताउँदै आएका थिए । ओलीले आफ्नो समूहका नेताहरुसँग छलफल गरेर निष्कर्ष दिन भनेको स्रोतले जानकारी दिए ।

त्यस्तै भेटमा ओलीले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

रावलले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध बहस भइरहेका बेला उक्त हस्ताक्षर फिर्ता लिनुको अर्थ नभएको र नलिने जवाफ दिएको स्रोतको भनाइ छ ।

“प्रतिनिधि सभाको विघटनको उत्पादनस्वरुप हस्ताक्षर भएको हो । हस्ताक्षर फिर्ता हुने सम्भावना नै छैन । सर्वोच्चमा बहस भइरहेका बेला हस्ताक्षर फिर्ता लिने र दिने कुराले कुनै अर्थ राख्दैन । अदालतबाट आउने निर्णय प्रक्रियाको स्वीकार गरेर जानुको विकल्प छैन,” उनको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो,“हामीले हस्ताक्षर संविधान र पद्धतिका लागि गरेका हौँ ।”

त्यस्तै रावलले जेठ २ मा पुगेको भनेर फागुन २८ मा पुग्नुले पार्टी एकतामा भलो नगर्ने पनि बताएका थिए ।

जेठ २ को कमिटीमा नगइ पूर्व माओवादीलाई कमिटीमा राख्दा एकतामा भाँजो हाल्ने काम मात्रै हुने रावलको भनाइ थियो ।

Write your Comment