काठमाडौं २१ आषाढ :
नेकपा एमालेको एकताका लागि संयुक्त मस्यौदामा छलफल शुरू भएको छ । सहमतिको मस्यौदाका लागि यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार गठित कार्यदलको औपचारिक बैठक सिंहदरबारमा शुरू भएको छ ।
एमाले स्रोतका अनुसार केही सकारात्मक प्रगतिपछि कार्यदल ब्युँताइएको हो । कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।
भीम रावलले आइतबार राति अध्यक्ष ओलीसँग भेटेपछि कार्यदल ब्युँतिएको हो । सर्वोच्च अदालतमा बहस सकिएकाले त्यसबारे अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ ।
त्यसबाहेक अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएमा माधव नेपाललाई सम्मानजनक स्थान दिएर केपी ओलीको सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।
त्यसमा सहमति भएको अवस्थामा एमालेका सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट अघि बढाउन यसअघि नै सहमति भइसकेको छ । दुवै पक्षका वार्ताकारहरूबीचको तीन बुँदे सहमतिको मस्यौदामाथि नै केन्द्रित रहेर कार्यदलमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन् ।
कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट छन् ।