युरो २०२०: स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

२३ असार २०७८, बुधबार ०८:११ प्रकाशित

स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा ४-२ को नतिजामा पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।
खेलको सुरुआतदेखि नै निरन्तर आक्रमण गरे पनि स्पेन फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केही आक्रमक शैली अपनाएको इटालीले ६०औं मिनेटमा फेड्रिको किएसाले गोल गर्दै अज्जुरीलाई अग्रता दिलाएका थिए ।

खेलमा प्रभुत्व जमाएर पनि १-० ले पछि परेको स्पेनका लागि सब्स्टिच्युट खेलाडी अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । फेरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान प्रवेश गरेका मोराटाले ड्यानी ओल्मोको पासमा सेन्टर लाइनबाट पेनाल्टी एरियमा प्रवेश गर्दै उत्कृष्ट गोल गरेका थिए ।
निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

इटालीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि २००० र २०१२ मा फाइनलसम्म पुगेको इटालीले उपाधि भने जित्न सकेको छैन ।

तीन पटकको विजेता स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र १२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटालीसँग पराजित हुँदै क्‍वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

जितसँगै इटालीले ३३ खेलमा अपराजित यात्रा तय गरेको छ ।

२३ असार २०७८, बुधबार ०८:११  मा प्रकाशित

Write your Comment