बाढीले बगाउँदा बाग्लुङ ताराखोलाका राजेन्द्र कार्की बेपत्ता,बाख्रा फार्म बगायो

२३ असार २०७८, बुधबार ०८:५७ प्रकाशित

अविरल बर्षापछि आएको बाढीले बगाउँदा बाग्लुङको ताराखोला गाउँपालिका–१ हिलस्थित घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएका छन्।

खोला छेउमा रहेको बाख्रा फार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन्। ‘रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्। त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ,’ पत्रकार महेन्द्र घर्तीले भने, ‘राताखोलाका सबै ठाउँमा पहिरोले वितण्डा मच्चाएको छ।’

बेपत्ता कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए।

यस्तै, निरन्तर परेको वर्षापछि गएको पहिरोले चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ। ताराखोला गाउँपालिका–१ हिलको इदि टोलमा केही परिवार विस्थापित छन्। विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यस्तै, वडा नम्बर २ अर्गलमा एक घर पुरिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

बाढीसँगै खोलामा पानीको बहाब बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीय त्रसित छन्। बजार क्षेत्रका २५ परिवारलाई मंगलबार राति नै सुरक्षित स्थानमा सारिएको छ। उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२३ असार २०७८, बुधबार ०८:५७  मा प्रकाशित

Write your Comment