पर्वतमा खहरे खोलाको बाढीले गाडी बगायो, इन्जिनियर र चालक बेपत्ता

२३ असार २०७८, बुधबार १०:०२ प्रकाशित

कुश्मा २३ आषाढ :

पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारु हुन् ।

कुश्मा नगरपालिका ८ दोबिल्लाको खहरे खोलाको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदी खोलामा भेटिएको छ । ‘तर, खोलाको बहाव एकदमै ठूलो भएकाले निकाल्नै सकिएको छैन,’ सिडिओ खत्रीको भनाई छ, ‘वेपत्ताहरुको अवस्था पनि अज्ञात छ ।’

सिडिओ खत्रीले उक्त बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर पनि बगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘बाढीपहिरोले अहिले बाटो पूरै बन्द भएको छ । खोल्न पनि सकिराख्या छैनौं,’ ।

२३ असार २०७८, बुधबार १०:०२  मा प्रकाशित

Write your Comment