एनआरएनएमा सदस्यता र नयाँ महाधिवेशन प्रतिनिधि चयनमा बिवाद

२६ असार २०७८, शनिबार १४:४८ प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन नजिकिँदै जाँदा विवाद पनि बढ्दै गएको छ। राष्ट्रिय समन्वय परिषद्हरु(एनसिसी)मा अधिवेशन चलिरहँदा सदस्यता र नयाँ महाधिवेशन प्रतिनिधि चयन लगायतका विषयमा विवाद बढेको हो।

एनसिसीका केही पदाधिकारीहरुले एनसिसीका अधिवेशनमा अनावश्यक हस्तक्षेप गरेको भन्दै पदाधिकारीहरुले अध्यक्ष र महासचिवको चर्को आलोचना गरेका छन्। आगामी अक्टोबरमा हुने संघको १०औं महाधिवेशनको तयारी स्वरुप बिहीबार साँझ आयोजित पदाधिकारीहरुको बैठक विवादकै कारण कुनै निष्कर्षमा पुग्न सकेन। बैठकका लागि १७ वटा प्रस्ताव तय गरिए पनि शुरुमै पदाधिकारीहरुबीच भनाभन भएपछि बैठक ठोस प्रस्तावमा प्रवेश नै गर्न नसकेको बैठकमा सहभागी एकजनाले बताए।

सचिवालयले बैठकका सहभागी सबै पदाधिकारीहरुलाई इमेलमार्फत पठाइएको प्रस्ताव बैठकमा बैठक शुरु भएलगत्तै महासचिव हेमराज शर्माले बैठकका प्रस्तावहरु पेश गरेका थिए। शर्माले आसन्न दशौं महाधिवेशनको तयारी र जारी एनसिसीहरुको अधिवेशनका विषयलाई समेटेर तयार पारेका सांगठनिक प्रतिवेदन पेश गर्न थालेपछि विवाद उत्पन्न भएको बताइएको छ।

बैठकमा महासचिव शर्माले अमेरिकाको एनसिसी अधिवेशनमा विधानको पालना नभएको बताएपछि अमेरिकामा नै रहेका उपाध्यक्ष सोनाम लामाले प्रतिवाद गरेका थिए। एनसिसी अमेरिकाको निर्वाचन एकमहिना अगावै सम्पन्न भए पनि गत साता मात्रै साधारणसभाको आयोजना गरी नवनिर्वाचित कार्य समितिलाई पदभार हस्तान्तरण गरिएको थियो। नयाँ कार्य समितिलाई सपथ गराउने क्रममा कार्यक्रममै विवाद उत्पन्न भएको थियो ।

उपाध्यक्ष लामाले महासचिव शर्माकै कारण संगठन बिग्रिएको भन्दै एनसिसीहरुमा गरिएको हस्तक्षेप तत्काल बन्द गर्न चेतावनी दिएका थिए। उपाध्यक्ष लामाले एनसीसीहरुले समाधान गर्ने विषयमा महासचिवले हस्तक्षेप गर्ने र त्यसलाई अर्का उपाध्यक्ष डा. बद्रि केसी र अध्यक्ष कुमार पन्तले पनि साथ दिने गरेकाले संसारभरको संगठनमा नराम्रो असर परेको भन्दै संस्थाको विधान र गरिमा अनुसार अगाडि बढ्न सुझाब दिएका थिए ।

बैठकमा सहभागी मध्यपूर्व उपसंयोजक मनोज गोरखालीका अनुसार महासचिव शर्माले उपाध्यक्ष लामाले लगाएको आरोपमा सत्यता नरहेको भन्दै फिर्ता लिन माग गरेका थिए। तर, उपाध्यक्ष लामाले आफूले भनेका कुरा आरोप नभई यथार्थ भएकाले फिर्ता नलिने अडान लिएका थिए।
महासचिव शर्माले आफूमाथि गम्भीर आरोप लागेको भन्दै पटक पटक फिर्ता लिन उपाध्यक्ष लामालाई आग्रह गरे पनि उनले फिर्ता लिएनन्। आरोप फिर्ता नभए बैठक अगाडि नबढ्ने अडान शर्माले लिएका थिए । तर, अन्य पदाधिकारीहरुले क्षेत्रगत रुपमा देखिएका समस्यामाथि छलफल हुनुपर्ने बताएपछि यूरोप र मध्यपूर्व क्षेत्रमा देखिएका समस्या बारेमा छलफल भएको थियो

२६ असार २०७८, शनिबार १४:४८  मा प्रकाशित

Write your Comment