नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् ।तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् ।
ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहोर्याउँदै बैठक जारी राखेका थिए । त्यसपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए ।
बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए । उनले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको बताए ।