बिघटित कार्यदलका सदस्यहरु बालकोटमा, पार्टी एकता बचाउने प्रयास जारी

२ श्रावण २०७८, शनिबार २१:२५ प्रकाशित

काठमाडौं २ श्रावण :

एमालेको विघटित कार्यदलका सदस्यहरू पार्टी एकता बचाउनको लागि फेरि सक्रिय बनेका छन् । उनीहरु शनिवार सांझ पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर भोलि आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक रोक्न आग्रह गरेका छन्। तर जवाफमा ओलीले बैठक कहिलेसम्म रोक्ने भनेर प्रश्न गरेका छन्।

छलफलमा सहभागी नेता गोकर्ण विष्टका अनुसार अध्यक्ष ओलीले तपाईंहरूले छलफल गर्नुस्, सहमति निकाल्नुस्। तर छलफलका लागि भनेर कहिलेसम्म बैठक रोकिरहने हो त्यो पनि भन्नुस् भनेका छन्।

‘हामीले बिहान सिंहदरबारमा गरेको छलफलअनुसार १० बुँदे सहमतिका आधारमा एकता गर्नुपर्छ भनेका थियौं,’ नेता विष्टले नेपालखबरसँग भने, अध्यक्षले एकता गर्ने कुरामा म नकारात्मक छैन, माधव नेपालसँग पनि कुरा गर्नुस्, उहाँले के भन्नुहुन्छ भन्नुभयो। हामीले भोलि (आइतबार) माधव नेपालसित पनि भेट्छौं।’

शुक्रबार विघटन गरिएको कार्यदलका सदस्यहरूले पार्टी एकताका लागि छलफललाई तीव्रता दिएका छन्।

शनिबार बिहान बैठक बसेर पार्टी एक बनाउन सक्दो कोसिस गर्ने निर्णय गरेका उनीहरू साँझ पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन्।

भेटवार्तामा विष्णु रिमाल र रघुजी पन्तबाहेक विघटित कार्यदलका सबै सदस्य सहभागी थिए।

बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा पार्टी एकताका लागि पार्टी पंक्तिले १० बुँदे सहमतिको अक्षरशः पालना गर्नुपर्ने शीर्ष नेताहरू पनि सहमतिमा आउनुपर्ने निष्कर्ष निस्किएको थियो।

बैठकमा उनीहरूले सहमति कार्यान्वयन गरेर अघि बढ्न अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई पालैपालो आग्रह गर्ने निर्णय गरेका थिए।

त्यही बमोजिम कार्यदलका सदस्यहरूले ओलीलाई भेटेको र भोलि आइतबार बिहान नेता नेपालसँग छलफल गर्ने कार्यदलका एक सदस्यले बताए।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका विपक्षमा मत हाल्ने निर्णय गर्दै यदि कसैले पक्षमा भोट दिन्छ भने उक्त भोट सांसद स्वयंमको हुने निर्णय गरेको थियो।

एमालेले स्थायी कमिटी बैठक आइतबार पनि राख्दै छ। तर नेपाल समूहका नेताहरूले उक्त बैठकमा उपस्थित हुने नुहने टुंगो भने लगाइसकेका छैनन्।

२ श्रावण २०७८, शनिबार २१:२५  मा प्रकाशित

Write your Comment