कांग्रेसका १० नेताको निष्कर्ष : समायोजनका नाममा पार्टी कब्जाको षडयन्त्र भयो

५ श्रावण २०७८, मंगलवार २०:५० प्रकाशित

काठमाडौं ५ श्रावण :
नेपाली कांग्रेसका १० जना नेताले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र रचिएको आरोप लगाएका छन् ।

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै कांग्रेसका निष्ठावान कार्यकर्ताको आत्मसम्मानमा प्रहार गरिएको बताएका हुन् ।

‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ’, वक्तव्यमा भनिएको छ ।
पार्टीमा नयाँ सदस्यहरुको आगमन हुनु आवश्यक भएपनि कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने वक्तव्यमा उल्लेख छ ।

५ श्रावण २०७८, मंगलवार २०:५०  मा प्रकाशित

Write your Comment