नुवाकोटको बट्टारबाट विदुर जाने पुल भासिँदा यातायात अवरुद्ध

१४ श्रावण २०७८, बिहीबार ०९:१७ प्रकाशित

नुवाकोट १४ श्रावण :
नुवाकोट जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ।

बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेपछि सडकमा यातायात सञ्चालन पूर्णरूपमा ठप्प भएको छ ।
पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातका साधनसमेत बट्टारमा नै रोकिएका छन्।
बुधबार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पुर्याएसँगै सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए। पुल भासिएसँगै पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ।

वैकल्पिक सडक नहुँदा भासिएको पुल मर्मतसम्भार गरेर पुनःसञ्चालन नभएसम्म सवारी साधन सञ्चालन नहुने ढकालले बताए। क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बाट खुलाउन प्रयास गरिने डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने उनले बताए।

यसैबीच बुधबार साँझ परेको वर्षाले जिल्लाको अन्य स्थानमा पनि पहिरो गई घरमा क्षति पुगेका विवरण सङ्कलन हुने क्रम जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ। चट्याङसहितको वर्षाले पानीको मुहानका स्रोत बढाएका छन् भने खोल्सा, खोला र नदीमा पानीको बहाव बढेको छ।

१४ श्रावण २०७८, बिहीबार ०९:१७  मा प्रकाशित

Write your Comment