एमाले खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, एमाले विवाद आजै वारपार हुने दाबी

२१ श्रावण २०७८, बिहीबार ०९:२१ प्रकाशित

काठमाडौं २१ श्रावण :
नेकपा एमालेको झलनाथ खनाल- माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।
अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए ।
केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने छ । माधव नेपाल पक्षका अर्का एक नेताका अनुसार एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुने छ ।

थप एजेण्डा तय गर्न केन्द्रीय कमिटी बैठक अघि स्थायी कमिटी बैठक बस्ने छ । उनले भने, ‘केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि स्थायी कमिटीको बैठक बस्छ । थप एजेण्डा त्यही बैठकले तय गर्छ ।’

प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।

झलनाथ-माधव समूहले पार्टी फुटाएर जान केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षको बुझाइ छ । माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन । तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको विश्लेषण हुन थालेको छ ।

२१ श्रावण २०७८, बिहीबार ०९:२१  मा प्रकाशित

Write your Comment