एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित

२३ श्रावण २०७८, शनिबार ११:५२ प्रकाशित

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन्।

गाहा मगरले चार हजार पाँच सय ७४ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी दीपक श्रेष्ठले दुई हजार १ सय ९१ मत प्राप्त गरेका छन्। त्यसैगरी अध्यक्ष पदकै अर्की प्रत्यासी रोजिना प्रधान राईले दुई हजार १ सय ४८ मत मत प्राप्त गरेकी निर्वाचन समितिले जनाएको छ।
अध्यक्षमा निर्वाचित मगरले दुई कार्यकाल संघको उपाध्यक्षमा निर्वाचित भएका थिए। उनको पुख्र्यौली घर गुल्मी हो।

गएको मंगलबार अनलाइन माध्यमबाट मतदान गरिएको थियो। शनिबार मात्रै मतदानको नतिजा सार्वजनिक गरिएको हो।

संघको उपाध्यक्षमा सुनिल बाबु खड्का, नारायण कंडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएकी छन् भने महासचिवमा खुसी लिम्बु र सचिवमा ज्ञानेन्द्रबहादुर आले तथा विष्णु चालिसे निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। संघको युवा संयोजकमा तीर्थबहादुर मल्ल तथा महिला संयोजकमा विमल लिम्बु निर्वाचित भएकी छन्।

त्यसैगरी संघको इंगल्याण्ड राज्य परिषद्को अध्यक्षमा लालबहादुर गुरुङ, उपाध्यक्षमा भक्त दर्जी निर्वाचित भएका छन्। स्कटल्याण्ड राज्य परिषद्को अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्ज्वल कार्की निर्वाचित भएका छन्। संघको नर्दन आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बल बहादुर थापा निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कंडेलले जानकारी दिए।

२३ श्रावण २०७८, शनिबार ११:५२  मा प्रकाशित

Write your Comment