टोकियो ओलम्पिको समापन आज

२४ श्रावण २०७८, आईतवार ०९:३२ प्रकाशित

आज ३२ औं ग्रिष्मकालीन ओलम्पिकको समापन हुँदैछ । करिव तीन सातासम्म चलेको विश्वकै सबैभन्दा ठूलो खेलकुद मेलामा २ सय ८ देशको प्रतिनिधित्व थियो ।

विश्वभरबाट ११ हजारभन्दा बढी खेलाडी तथा अफिसियलहरु टोकियोको ओलम्पिक भिलेजमा भेला भएका थिए । आज पुरुष म्याराथनसहित १३ स्पर्धाको फाइनल सकिएपछि समापन समारोह हुँदैछ ।

ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीको सहभागिता थियो । सबै खेलाडी पहिलो चरणको स्पर्धाबाटै बाहिरिए । पौडीबाट गौरिका सिंह र एलेक्स शाहले प्रतिस्पर्धा गरेका थिए । शुटिङबाट कल्पना परियार, जुडोबाट सोनिया भट्ट र एथलेटिक्सबाट सरस्वती चौधरीले खेलेका थिए ।
ओलम्पिक पदक तालिकामा शीर्ष स्थानको चीनलाई अमेरिकाले चुनौति दिइरहेको छ । चीन र अमेरिकाबीच मात्र दुई स्वर्णको अन्तर छ भने समग्र पदक संख्यामा अमेरिका धेरै अगाडि छ । आज हुने स्पर्धामा अमेरिकाले महिला भलिबल, बास्केटबलसहित पाँचवटा फाइनल खेल्दैछ । यसर्थ कम्तिमा तीन स्वर्ण जितेको अवस्थामा पदकतालिकामा चीन दोस्रो स्थानमा झर्नेछ ।

हिजोसम्मको पदकतालिकामा चीन ३८ स्वर्ण, ३१ रजत र १८ कांस्य गरी ८७ पदकसहित शीर्ष स्थानमा छ । अमेरिका ३६ स्वर्ण, ३९ रजत र ३३ कांस्य गरी १ सय ८ पदकसहित दोस्रो स्थानमा छ । इतिहासमै सबैभन्दा सफलता हासिल गरेको जापानले २७ स्वर्ण जितेर तेस्रो स्थानमा छ । रुस ओलम्पिक कमिटी र बेतायत २० स्वर्णसहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

२४ श्रावण २०७८, आईतवार ०९:३२  मा प्रकाशित

Write your Comment