बहुराष्ट्रिय कम्पनी युनिलिभरको चिया प्लान्टमा छापा पछि,प्रशासनले गर्यो सिल

१८ भाद्र २०७८, शुक्रबार १५:४७ प्रकाशित

हेटौँडाको बसामाडिमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया अगाडि बढाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा,जिल्ला प्रशासन कार्यालय मकवानपुर विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा भएको अनुगमनमा विवरण स्पष्ट नभएको र म्याद गुज्रिएको चियापत्ती फेला पारेपछि नमूना सङ्कलन गरिएको र कम्पनीको चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेको उहाले बताउनुभयो । रिजालका अनुसार उक्त कम्पनीमा म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९२० बोरा चिया फेला परेको थियो। फेला परेको चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।

उक्त चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने प्रयोजनका लागि राखिएको विशेष सूचना पछि अनुगमन गरिएको रिजालको दाबी छ । भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्ती ‘रेड लेबल’ नामक चियाको ब्राण्डमा बिक्रीका लागि बजार पठाउने गरेको फेला पारिएसँगै अनुगमन भएको हो।
यसअघि सो टोलीले भारतीय ब्राण्डको नाममा गैरकानुनीरुपमा अगरबत्ती उत्पादन गर्ने एक व्यवसायीलाई पनि कारबाही गरेको थियो।

१८ भाद्र २०७८, शुक्रबार १५:४७  मा प्रकाशित

Write your Comment