एमसीसीबारे सरकारको प्रश्नमा : नेपालको संविधानभन्दा माथि नरहेको अमेरिकाको जवाफ

२३ भाद्र २०७८, बुधबार २१:११ प्रकाशित

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको छ । अमेरिकी दूतावासले नेपाल प्रेसलाई उपलब्ध गराएको जवाफको पूर्णपाठमा एमसीसी हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता नभएको बताइएको छ ।
एमसीसी कम्प्याक्ट साझेदार र सरकारबीचको सम्झौता भएको जनाउँदै जवाफमा भनिएको छ : हिन्द प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनैपनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहन्छ ।

साथै, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको समेत जवाफ दिइएको छ । सरकारले सोधेका प्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको हिस्सा नरहेको समेत उल्लेख छ । सुमारको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दिइएको जवाफमा एमसीसी नेपालको संविधान माथि नरहेको जनाइएको हो ।
एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी निवारण गर्नु रहेको जवाफ दिइएको छ । एमसीसीलाई लागू हुने अमेरिकी कानूनले कुनैपनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरिएको जनाइएको छ ।

हस्ताक्षर भैसकेको नेपालको एमसीसी कम्प्याक्टलाई अहिले संशोधन गर्न नमिल्ने जवाफ दिइएको छ । हिन्द–प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनैपनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहने समेत जनाइएको छ ।

२३ भाद्र २०७८, बुधबार २१:११  मा प्रकाशित

Write your Comment