संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा नातामा भतिजो पर्ने, एक व्यक्ति पक्राउ

२६ भाद्र २०७८, शनिबार १२:०१ प्रकाशित

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई शुक्रवार पक्राउ गरेर सार्बजनिक गर्ने तयारी गरेको छ । नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ।
लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतमा लतपतिएको कपडा बरामद भएको प्रहरीले जनाएको छ।

‘थप कुराहरूको पुष्ट्याइँ गरेर हामी आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालको भनाइ छ ।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।

‘प्रहरी अनुसन्धानको निष्कर्षमा पुगेको र घटनाबारे विस्तृत रुपमा पत्रकार सम्मेल गरेर जानकारी गराउने’ दाहालले बताउनुभयो ।
घटनाको प्रकृति र कारण बारे पनि प्रहरीले सार्बजनिक गर्ने उहाको भनाइ छ ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले हत्या आरोपमा एक युवालाई पक्राउ गरिएको पुष्ठि गर्नु भयो। उहाले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने उहाको भनाइ छ ।

परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो।

उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो। पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।

पारिवारीक शत्रुताका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।

२६ भाद्र २०७८, शनिबार १२:०१  मा प्रकाशित

Write your Comment