सिआइबिद्वारा ९३ लाख नेपाली नक्कली नोट सहित कारोबार गिरोहका ५ जना पक्राउ

२७ भाद्र २०७८, आईतवार १२:०१ प्रकाशित

बारा २७ भाद्र :
जाली नोटको कारोबार गर्ने संगठित गिरोहका ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले शनिबार बारा तथा रौतहटबाट नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले ९३ लाख नक्कली नेपाली रुपैया पनि बरामद गरेको छ । निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट पक्राउ परेका उनीलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ ।

काठमाण्डौंबाट आएको व्युरोको टोलीले निजगढस्थित होटल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएपछि थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ बाट दिउसो ३ बजे पक्राउ परेका हुन । प्रहरीले एउटा घरको गाई भैसी बाध्ने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
बारा प्रहरिलेले घटनाको बारेमा थप विवरण दिन चाहेको छैन । तारा इनमा पक्राउ परेका र गुजरामा रकमसहित नियन्त्रणमा लिइएका व्यक्तिहरुको एउटै ‘कनेक्शन’ भएको पनि बताइएको छ । होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा व्युरोको टोली काठमाण्डौंबाट सिधै निजगढ आइपुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र ईलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठुलो संख्यामा आएको व्युरोे टोलीले उच्च सर्तकताका साथ बिहान ११ बजे होटलमा ‘रेड’ गरेको हो । छापामारी गर्ने क्रममा व्युरोका सुरक्षाकर्मीले ईलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटलभित्र पस्न दिएका थिएनन भने सर्वसाधारणलाई होटलअगाडि सडकमा हिडडुल गर्न समेत रोक लगाएका थिए । व्यूरोको टोलीले छापामारी थालेपछिमात्रै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन । ‘घटनाबारे शुरुमा केही कुरा पनि जानकारी थिएन, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भन्नुभयो, गाउँले र सर्वसाधारणले आफुलाई फोन गरेर सोधखोज गर्न थालेछिमात्रै थाहा भयोे ।’ ईलाका प्रहरी कार्यालयको टोली दिउसो १२ बजेपछि मात्रै होटलमा पुगेको हो । होटलबाट नियन्त्रणमा लिएका ३ जना व्यक्तिहरुलाई साथमा लिएर गुजरातर्फ लागेको व्युरोको टोलीले रकमसहित थप २ जनालाई नियन्त्रणमा लिएको हो ।

२७ भाद्र २०७८, आईतवार १२:०१  मा प्रकाशित

Write your Comment