एनआरएनए चुनावमा परराष्ट्रले भन्यो : निर्वाचन प्रक्रिया रोक्नु

२८ भाद्र २०७८, सोमबार १४:०३ प्रकाशित

काठमाडौं २८ भाद्र :
गैरआवासीय नेपाल संघ (एनआरएनए)को १० औं महाधिवेशन प्रतिनिधि चयनका क्रममा संस्थापन पक्षले व्यापक धाँधली गरेको उजुरी परेपछि परराष्ट्र मन्त्रालयले बाँकी प्रक्रिया स्थगन गर्न गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्रिय समन्वय परिषदलाई निर्देशनात्मक पत्र पठाएको छ ।
परराष्ट्रले पहिलोपटक एनआरएन चुनावमा हस्तक्षेप गर्दै एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदपका चुनाव स्थगन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानविन गर्न नेपाल सरकारले बितेको शुक्रबार अनुगमन समिति समेत गठन गरेको उल्लेख छ ।

गठित अनुगमन समितिले आफ्नो प्रतिवेदन पेश नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
सरकारको पत्र प्राप्त भएपछि आइतबार संघका पदाधिकारीहरुको बैठक बसेको र सरकारसँग सुरुआती चरणमा छलफल गर्ने तयारी भएको संघका महासचिव हेमराज शर्माले जानकारी दिनु भयो ।

शर्माले एनआरएनमा राजनीतिक हस्तक्षेप बढेको भन्दै हस्तक्षेपको कारण संघलाई नै असर पुग्ने बताउनु भयो । बैठकमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा परराष्ट्र मन्त्रालयले संघको निर्वाचनमा हस्तक्षेप गरेकोले साथै परराष्ट्र मन्त्रालयको हस्तक्षेपविरुद्ध अदालत जानुपर्ने बिषयमा छलफल भएको थियो ।                                                                         

२८ भाद्र २०७८, सोमबार १४:०३  मा प्रकाशित

Write your Comment