संशोधित बजेट दुवै सदनबाट पारित,राष्ट्रपतिले प्रमाणीकरण गरे पछि कार्यान्वयनमा आउने

७ आश्विन २०७८, बिहीबार १५:३२ प्रकाशित

वर्तमान सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुहुने छ । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक ल्याउनु भएको थियो। सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो।
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउनुहुनेछ। नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न नसकेर समस्या सृजना भएको थियो ।

७ आश्विन २०७८, बिहीबार १५:३२  मा प्रकाशित

Write your Comment