काठमाडौ ९ आश्विन :
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनका लागि शुक्रबार गठित १० वटा समूहको छलफल सकिएको छ। शुक्रबार सुरु बैठकमा प्रस्तुत गरिएका तीनवटा प्रतिवेदनमाथि छलफल सकिएपछि निष्कर्ष प्रस्तुत गर्न टोली नेता चयन गरिएको छ।
शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।
तीन वटै प्रस्तावमाथि छलफलका लागि १० वटा समूह बनाइएको थियो। १ सय ९६ जना केन्द्रीय सदस्यहरुलाई १० वटा समूहमा बाँडेर शुक्रबारदेखि थालिएको छलफल छलफल सकिएपछि निष्कर्षका लागि टोली नेता चयन गरिएको हो।
सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरूबाट प्रतिनिधित्व गराउँदै केन्द्रीय सदस्यहरुको १० वटा समूह बनाइएको थियो।
ती समूहले विधान मस्यौदा,राजनीतिक र सांगठनिक प्रस्तावमाथि हिजै देखि छलफल गरेका थिए। दुई दिनसम्म गरिएको छलफल बाट निकालिएको निष्कर्ष प्रस्तुत गर्न हरेक समूहबाट टोली नेता बनाइएको हो।
यसै क्रममा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर रानालाई टोली नेता चयन गरिएको छ।
त्यसैगरी कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेष कमिटीबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले समूहको निष्कर्ष राख्नेछन ।
समूहबाट आएका निष्कर्ष र सुझावका आधारमा अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख पौडेलले जवाफ दिने र केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गर्ने प्रचार बिभाग प्रमुख योगेस भट्टराईले बताउनु भयो ।
पारित प्रतिबेदन असोज १५-१७ सम्म हुने विधान महाधिवेशनमा पेश हुनेछ।