खेलकुद महासंघका अध्यक्ष पौडेल र महासचिव श्रेष्ठ सहित अधिकाँश एमालेमै रहने

१० आश्विन २०७८, आईतवार ०९:४० प्रकाशित

नेकपा (एमाले)को नेपाल खेलकुद महासंघ (नेकोस) का केन्द्रीय कमिटी अध्यक्ष पुरुषोत्तम पौडेल र महासचिव धर्म श्रेष्ठसहित अधिकाँश पदाधिकारी र सदस्यहरू एमालेमै रहने भएका छन् ।नेपाल खेलकुद महासंघ २०६६ साल मंसिर १४ गते पुरुषोत्तम पौडेलको अध्यक्ष तामा स्थापना गरिएको र संघका संस्थापक अध्यक्ष समेत रहेका महाधिवेशनबाट निर्वाचित पौडेल र श्रेष्ठलगायत अधिकाँश पदाधिकारी र सदस्यहरू हिजोका दिनमा माधवकुमार नेपाल समुहका रूपमा चिनिएका थिए ।

नेपाल खेलकुद महासंघका तर्फबाट अध्यक्ष पौडेल र महासचिव श्रेष्ठले शनिवार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा (एमाले)सँग असन्तुष्ट एउटा समुहले नयाँ दल दर्ता गरेपछि महासंघमा समेत केही संशय पैदा गर्ने प्रयास भएको छ । कतिपय साथीहरू नयाँ दल तिर आकर्षित भएको देखिए पनि अधिकांश साथीहरू एकताको पक्षमा उभिएका छौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘एकता वा विभाजन मध्ये एउटा रोज्नु पर्दा हरकोहीले एकता रोज्ने गर्दछन् । विभाजन कसैलाई, कहिल्यै पनि प्रिय विषय हुन सक्दैन । त्यसमा पनि खेलाडी र खेलकुद क्षेत्रले विभाजन रोज्नु स्वाभाविक हुँदैन । नेकपा (एमाले)द्वारा २०७८ भाद्र १३ गते जारी अन्तरपार्टी निर्देशन–१२ पछि महासंघका सवै पदाधिकारी, सदस्यहरू प्रदेश, जिल्ला र स्थानीय कमिटीहरू२०७५ जेष्ठ २ गतेको अवस्थाबाट क्रियाशिल भएका छन् । हामी जेष्ठ २ गतेको अवस्थाबाट महासंघलाई पार्टी एकताको पक्षमा दृढतापूर्वक खडा गर्दै अघि बढ्न हार्दिक अनुरोध गर्दछौ ।’

जारि विज्ञप्तिमा महासंघले अलमलमा परेका सबैलाई समेत एकताको पक्षमा खडा हुन आग्रह गर्दै नेपाल खेलकुद महासंघ (नेकोस) नेकपा (एमाले)को जनसंगठन भएकोले जुनसुकै अवस्थामा पनि एमालेकै झण्डा मुनी क्रियाशिल रहने अठोट समेत व्यक्त गरेको छ। एमालेको जनसङ्ठन मध्ये महासंघ सबैभन्दा कान्छो जनसंगठन हो ।

१० आश्विन २०७८, आईतवार ०९:४०  मा प्रकाशित

Write your Comment