सप्तरीका विभिन्न स्थानमा पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

१० आश्विन २०७८, आईतवार १५:४५ प्रकाशित

सप्तरी १० आश्विन :
सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित बन्दै गएका छन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
उनको शब राजविराजमा राखिएको छ। आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

अघिल्लो दिन शुक्रबार विष्णुपुर गाउँपालिका-५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।

महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो ।

सोही दिन खड्ग नगरपालिका-८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोही दिन तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।

१० आश्विन २०७८, आईतवार १५:४५  मा प्रकाशित

Write your Comment