नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।
अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा,मेटमणि चौधरी,रामकुमारी झाँक्री, प्रेम आले,जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।
त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि ‘एडजस्ट’ गर्नुपर्ने भन्दै नेता नेपालले सात मन्त्री मागेको बुझिएको छ । एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएको श्रोतले जनाएको छ ।
गठबन्धनबीच बिहीबारसम्म सरकारलाई पूर्णता दिने सहमति भइसकेको छ ।