दसैँको टीका लगाउने शुभ साइत बिहान १०: २ मा, टीका लगाउँदा पुर्ब फर्कदा उत्तम

२९ आश्विन २०७८, शुक्रबार ०६:२० प्रकाशित

आज बडादसैँको दशौँ अर्थात् मुख्य दिन। आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ।

आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनु भयो ।
विजयादशमीका दिन आज दिनभर टीका लगाउने साइत भएपनि राम्रो समयको साइत १०ः२ बजेलाई तोकिएको छ। ‘अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः२ बजेको साइत नै कुर्नुपर्दैन, समितिका अध्यक्ष अधिकारीको भनाइ छ ।

उहाका अनुसार समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन।
विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।

शास्त्रीय मान्यताअनुसार विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गर्ने प्रचलन छ।
घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्।

२९ आश्विन २०७८, शुक्रबार ०६:२०  मा प्रकाशित

Write your Comment