साफ च्याम्पियनसीपः उपाधिका लागि भारत र नेपाल बिच भिडन्त आज

३० आश्विन २०७८, शनिबार ११:१९ प्रकाशित

काठमाडौं ३० आश्विन :
साफ च्याम्पियनसीपको १३ औं संस्करणको उपाधिका लागि आज नेपाल र भारतका बीच फाइनल भिडन्त हुँदैछ । नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारत ७ पटकको उपाधि विजेता हो ।
आ-आफ्ना समूह चरणमा अन्तिम खेलबाट नेपाल र भारतले फाइनलमा स्थान सुरक्षित गरेका थिए । पहिलो दुई खेल बराबरीमा रोकिएको भारतले पछिल्लो दुई खेलमा जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले भने पहिलो दुई खेल जिते पनि तेस्रो खेलमा भारतसित पराजय व्यहोरेको थियो ।

समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोकेपछि नेपाल इतिहास रच्दै फाइनलमा पुगेको छ ।
माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा आज नेपाली समय अनुसार राति ८:४५ मा फाइनल भिडन्त हुनेछ । हेड टु हेडका आधारमा हेर्दा नेपालभन्दा भारत बलियो टिम देखिता पनि फाइनलमा नेपाल उच्च मनोबलका साथ उत्रिने अपेक्षा गरिएको छ ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको फाइनलपछि नेपाली टिम छोड्ने घोषणा गरिसकेका छन् । त्यसैले उनी आफ्नो बिदाई म्याचलाई स्मरणीय बनाउन चाहन्छन् । उनले नेपाललाई कस्तो रणनीतिमा उतार्छन् भन्ने चासो छ ।

यसअघि समूहचरणको खेलमा भारतसँग अति रक्षात्मक खेल्दा नेपालले १-० को हार स्वीकार्न वाध्य भएको थियो । फाइनलमा नेपालले अट्याक र डिफेन्सको सन्तुलन मिलाउनुपर्ने छ ।

साफ च्याम्पियनसीपको उपाधि जितेको खण्डमा नेपालको ऐतिहासिक सफलता हुनेछ । भारतका लागि भने यो नियमितताजस्तै बनिसकेको छ । च्याम्पियनसीपका अघिल्ला १२ संस्करणमध्ये ११ संस्करणमा भारत फाइनलमा पुगेको थियो ।

सन् २००३ को फाइनलमा मात्रै भारतले तेस्रो स्थानमा चित्त बुझाएको थियो । अन्यथा बाँकी सबै संस्करणमा भारत विजेता वा उपविजेता बनेको छ ।

३० आश्विन २०७८, शनिबार ११:१९  मा प्रकाशित

Write your Comment